गायनमा जमेका पराजुली दम्पती

डब्बु क्षत्री / राजधानी
काठमाडौं, १८ माघ

‘दिन ढल्यो अँधेरी रातमा

यो मन जल्यो निष्ठुरीको यादमा…’

लाखौं दर्शकले मन पराएको यस गीतकी गायिका हुन्, यशोदा पराजुली । गीतका संगीतकार हुन्, गणेश पराजुली । यी दुई कलाकारको यो मात्र चर्चित गीत होइन । यस्ता दर्जनौं चर्चित गीत यी जोडीले नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् ।

गायन यात्राबाट दाम्पत्य जीवनमा जोडिएका यी जोडीले विगत अढाई दशकदेखि गायन यात्रालाई निरन्तता दिँदै आएका छन् । पछिल्लो दशक नेपालमा भन्दा विदेशमा बढी व्यस्त रहने यी जोडी अब भने बढीजसो समय नेपालमै रहेर गायनलाई निरन्तरता दिने पक्षमा छन् ।

राजधानीसँगको भेटमा गायक तथा संगीतकार गणेश पराजुलीले भने, ‘जीवनमा पैसाले कहिल्यै नपुग्दो रहेछ, त्यसैले हामी पैसा कमाउनकै लागि विदेशमा बस्यौं । विदेशमा पनि हामी जोडीले गायनलाई नै निरन्तरता दियौं ।’ पछिल्लो दशक हङकङमै बिताएका गणेशले भने, ‘हामी हङकङमा हरेक साता सांगीतिक कार्यक्रम गथ्र्यौं र त्यहाँबाट सांगीतिक प्रस्तुतिका लागि विभिन्न देशमा जाने गर्दथ्यौं । त्यो क्रम अहिले पनि जारी छ ।’ हङकङसहित कतार, चीन, ताइवान, बहराइन, मकाउ, अमेरिकाजस्ता थुप्रै देशमा सांगीतिक कार्यक्रम गरिसकेका यी जोडीले भने, ‘विदेशमा बढी समय रहे पनि हामीहरूले बेलाबेलामा नयाँ गीत रेकर्ड गराएर दर्शक श्रोताका लागि नयाँ गीतहरू ल्याइरहेका छौं ।’

अघिल्लो गीतिसंग्रह सहयात्राको सफलताले उत्साहित गणेश र यशोदा चाँडै नै सहयात्रा–२ ल्याउने तयारीमा छन् । यस गीतिसंग्रहका बारेमा गणेशले भने, ‘शब्दहरू छानेर संगीत कम्पोज गर्ने काम भइरहेको छ । हामी आगामी दसैंअघि नै सहयात्रा–२ गीतिसंग्रह श्रोता दर्शकमाझ पक्कै ल्याउनेछौं ।’ सहयात्राजस्तै सहयात्रा–२ मा पनि आफूहरूले उत्कृष्ट गीतहरू पस्कने पनि उनले बताए । यसअघि गाउँको माया, फुर्सदमा, सहयात्राजस्ता गीतिसंग्रहसहित सयौं फुटकर गीत यी दम्पतीले दर्शकमाझ ल्याइसकेका छन् । यी दुई कलाकारको विशेषता भनेकै गणेशले संगीत सिर्जना गर्छन्, मीठो धुन तयार पार्छन् र त्यस धुनमा यशोदाले मीठो स्वर भर्छिन् । कुनै गीत यशोदा एक्लैले गाउँछिन् त कुनै गीत युगल रूपमा यी दम्पतीले सँगै गाउँछन् । यी दम्पतीको उता तिमी आधा, यता छु म आधा…, माया फूल हो माया पात हो… जस्ता दर्जनौं कालजयी युगल

गीतहरू छन् ।

दुवैजना संगीतका विधार्थी भएकाले गायनमा सँगै अघि बढ्न सजिलो भएको यी दम्पतीको भनाइ छ, ‘हामी दुवैले शास्त्रीय गायनमा बी म्युज गरेका हौं । दुवैको रोजाइ गायन भएकाले दाम्पत्य जीवनसँग गायनलाई पनि निरन्तर अघि बढाउँदै आएका छौं ।’ पराजुली दम्पतीले भने, ‘गजल, आधुनिक गीत, लोक भाकाका गीत हामी दुवैको रोजाइ हो ।’

प्रेम गीत गाउँदा पनि यशोदाका गीतमा गणेशप्रतिको माया र गणेशका गीतमा यशोदाप्रतिको माया देखिन्छ । यी दम्पतीका गीत श्रोताका लागि प्रेमीले प्रेमिकालाई तथा प्रेमिकाले प्रेमीलाई भनेजस्तो लाग्छ । तर, उनीहरूका लागि एक अर्काको जस्तो लाग्दो रहेछ । गणेशले गायकको सुन माया जाँदै छु म टाढा…, तिमीलाई अपनाउ भनेर…, यशोदाको तिमी छौ पारि आफू छु वारि…, के माग्छौ भनी कसैले सोधेभने…जस्ता कैयौं गीतहरू एकले अर्कालाई गायएको यी दम्पतीको भनाइ छ ।

गणेश र यसोदाले पछ्याएको गायन मार्गमा छोरी निर्जला पराजुली पनि लागेकी छन् । हाल अमेरिकामा उच्च शिक्षा हाँसिल गरिरहेकी निर्जलाले चलचित्र गीत, बालगीत, आधुनिक गीतसहित डेढ दर्जन गीत आफ्नो स्वरमा रेकर्ड गराइसकेकी छन् ।

६ महिनाअघि हङकङमा पिता गणेश पराजुलीसँग निर्जलाले एकल साँझ गरेकी थिइन् । ‘निर्जला साँझ, गणेश पराजुलीको विशेष प्रस्तुति’ सांगीतिक साँझमा निर्जलाको गायनलाई दर्शकले प्रशंसा गरेको गणेशले बताए, ‘छोरीले पनि आत्मविश्वासका साथ यति राम्रोसँग यी गीतहरू प्रस्तुत गरिन् कि हाम्रो उत्तराधिकारीको रूपमा उनी आएकामा सबैले हामीलाई बधाइ दिए ।’

फेरि अमेरिका जाने तयारीमा रहेका गणेशले उता छोरीलाई भेट्ने र त्यही बहानामा सांगीतिक प्रस्तुति पनि दिने जानकारी गराए । अमेरिकापछि केही देशमा सांगीतिक कार्यक्रम गरेर नेपाल फर्कने र सहयात्रा–२ का बाँकी गीतहरू रेकर्डमा लाग्ने यी कलाकारको भनाइ छ । नेपाली गीतसंगीत विगतको जस्तो एलबममा ल्याएर बेच्ने जमाना गएकाले कन्सर्टबाटै आफूहरूले गीत संगीतको लगानी उठाउनुपरेको पनि गणेशले बताए । त्यसैले, नयाँ गीतिसंग्रहका केही गीतको प्रचारप्रसार र मार्केटिङका लागि पनि बेलाबेलामा विदेशमा कार्यक्रम गर्नुपर्ने उनले खुलासा गरे ।